दश अकुशल


(मिति २०७४ मंसीर २ गते श्रीवच्छ परियत्ति केन्द्रको अायोजनामा संचालित २९
वक्तृत्व कला प्रतियोगितामा श्री पूर्णशोभा शाक्य सहभागी भइ 'दश अकुशल' का वारेमा बोल्दै)

अज्ञानका कारण राग, द्वेष र मोह रूपी क्लेशको वसमा परी आफू र अरूलार्इ हानी हुने, दुःख हुने कर्महरू गर्नुलार्इ ‘अकुशल कर्म’ भनिन्छ । विवेकहीन भर्इ मानिसहरूले सुखभोगको आकांक्षा लिर्इ यस्ता कर्महरू गर्छन् तर परिणाममा सुखको सट्टा दुःख नै मात्र प्राप्त हुन्छ । यसरी मूर्खता वस आफै आफ्नो दुःखको कारक हुने गरी गर्ने कर्म भएकोले यस्ता कर्मलार्इ अकुशल भनिएका हुन् ।  धम्मपदका १८३ औं गाथामा भगवान बुद्धले यसरी उपदेश दिनु भएको छ । 
“सब्बपापस्स अकरणंकुसलस्स उपसम्पदा।
सचित्तपरियोदपनंएतं बुद्धानसासनं॥”
‘पाप कर्महरू नगर्नु, कुशल कर्म वृद्धि गर्दै लानु,
चित्त शुद्ध गर्नु – यीनै बुद्धहरूका उपदेश हुन् ।’
यस गाथालार्इ बुद्ध शिक्षाको सारका रूपमा लिइन्छ । यहाँ पाप कर्म भन्नाले दश अकुशल कर्मलार्इ जनाउँछ । म आज यहाँहरू समक्ष यीनै दश अकुशलका वारे संक्षिप्त रूपमा ब्याख्या गर्न गइरहेकी छु ।   
१.      पाणातिपात – प्राणीहरूको हत्या वा हिंसा गर्नुलार्इ पाणातिपात भनिन्छ । पैसाको लोभमा, वा मासु खान, वा इर्ष्या र रिसका कारण, वा अन्धविश्वासमा परी, वा रमाइलोको लागि मानिसले प्राणिहरूको हत्याहिंसा गर्नु सबैभन्दा ठूलो कायकर्म हो । यसरी राग, द्वेष र मोहको वसमा परी गरिएको हत्याहिंसा कर्मको फल निकै गह्रॏ हुन्छ अर्थात् अनन्तकालसम्म दुःखको भुमरीमा पर्ने र कयॏ कल्प सम्म त्यसको फल आइरहन्छ ।
२.     अदिन्नादान – ‘अदिन्न’ भनेको ‘नदिएको’ र ‘आदान’ भनेको ‘लिनु’ हो तसर्थ ‘अदिन्नादान’ को शाब्दिक अर्थ नदिएको वस्तु लिनु हो । यो कर्म तीन प्रकारले छन् 
१.      बलपूर्वक – लुट्नु, डकैटी गर्नु
२.     छलपूर्वक – ठग्नु, झुक्याएर अरूको वस्तु हत्याउनु, समानमा मिसावत गर्नु, तॏलमा छल्नु आदि
३.     गोप्यपूर्वक – चोर्नु, पाकेट मार्नु आदि
३.      कामेसुमिथ्थ्याचार – कामेसुमिथ्थ्याचार भनेको यॏन दुराचार हो । विवाहित ब्यक्तिले परस्त्री वा परपुरूष गमन गर्नु, आफ्नै परिवारका वा नातागोता भित्र पर्ने महिला वा पुरूष सँग यॏनक्रिया गर्नु, कसैको लोग्ने वा स्वास्नी भर्इ वसेको ब्यक्ति संग यौन सम्पर्क राख्नु, कुनै स्त्री वा पुरूषको इच्छा विपरित जवरजस्ती यौनक्रिया गर्नु,  उमेर नपुगेका बालबालिकाहरू सँग यौनक्रिया गर्नु आदि काममिथ्थ्याचार कर्ममा पर्दछ । इच्छा विपरित वा प्रतिकूल समय वा अप्राकृतिक किसिमले आफ्नै स्त्री सँग गरिने यौन सम्पर्क समेतलार्इ काममिथ्थ्याचार मानिन्छ । यस कर्मले अर्को ब्यक्तिको शील पतन गराउने दोष हुन्छ । यस बाहेक आफ्नै कामइच्छा धेरै बढ्नु, विवाद र कलहको हेतु बन्नु, विभिन्न यौनजन्य रोगहरूबाट हानी हुनु र विवेक गुम्नु यसका दोषहरू हुन् ।
४.     मुसावाद – लोभ वा द्वेषको वसमा परी अरूलार्इ ठग्ने, अरूलार्इ हानी पुर्याउने मनसाय राखी झुटो बोल्नु, झुटो कुरामा आफू साक्षी बस्नु, असत्य कुराको प्रचारप्रसार गर्नु, आफ्नो अभिमान देखाउन नभएका गुणहरू पनि छन् भनी असत्य बोल्नु आदि मुसावाद हो ।
५.     पिसुनवाचा – कोहिं मिलेकालार्इ फुटाउने, यताको कुरा उता र उताको कुरा यता गरी झगडा गराउने चुक्लि वचनलार्इ पिसुनवाचा भनिन्छ । यसले स्वतः दुःख र तनाव पैदा गराउँछ । यी मध्ये पनि सबै भन्दा ठूलो पिसुनवाचा संघभेद हो । पिसुनवाचा गर्ने ब्यक्ति कसैसित प्रेमपूर्वक वस्न नसक्ने हुन्छ ।
६.     फरूसवाचा – अरूको इज्जतमा धक्का पर्ने गरी गाली गर्नु, क्रोधवस कटुवचन बोल्नु, अपशब्द बोल्नु, कसैको दोषलार्इ लिएर उसलार्इ मनमा घोच्ने शब्द प्रयोग गर्नु, मनमा चोट पर्ने गरी ब्यँङ्ग गर्नु आदि फरूसवाचा हो । फरूसवाचा आमाबुवा, गुरूजन, बोधिसत्त्वहरूलार्इ पर्दा त्यसको सबैभन्दा ठूलो फल पैदा हुन्छ ।
७.    सम्पप्फलापवाचा – बेकारको, समय नसुहाँउदो, अनर्थको, धर्म विपरितको, रंग न ढंगको कुरा गर्नुलार्इ सम्पप्फलापवाचा भनिन्छ। यस्ता अनुत्पादक कुराले आफ्नो र अरूको अमूल्य समय नष्ट पारिदिन्छ । यस्ता कुराहरू समान्यतः तीन प्रकारका हुन्छन् ।
१.      मिथ्थ्या सम्पप्फलाप – मिथ्थ्या दर्शनमा आधारित गलत किसिमका कुराहरू वताउने जस्तै नुहाएर धर्म हुन्छ र पाप पखालिन्छ भन्ने आदि ।
२.     लौकिक सम्पप्फलाप – युद्धकथा, चोरकथा, स्त्रीकथा आदि लौकिक विषयका गफ हाँक्नु, अध्ययन गरिरहेकाहरूको मन बरालिने कुरा गर्ने, चित्त अस्थिर हुने खालको कुराहरू गरी समय कटाउनका लागि गरिने कुरा ।  
३.     सत्य सम्पप्फलाप – सत्यकुरा पनि अनुपयुक्त ब्यक्ति वा अनुपयुक्त स्थान तथा समयमा गर्दा निरर्थक हुन जान्छ र सम्पप्फलाप हुन जान्छ ।
८.     अभिज्झा – कुनै कुरा प्राप्तिको लागि सदैव मनले चिताइरहनु अर्थात् लोभी चित्त हुनु नै अभिज्झा हो । यसलार्इ विषम लोभ, राग, काम पनि भनिन्छ । आफ्नो जस्तो गुण, धन, कुल कसैको नहोउन् भनी चिन्तन गरी रहनु, अरूको सम्पत्ति आफ्नो वनाउन पाए हुँन्थ्यो भनी चिन्तन गर्नु, कुनै कसैको स्वामित्वमा नभएका धन, सम्पत्ति र उपभोग्य कुराहरू प्रति आसक्त भर्इ आफूले पाए हुन्थ्यो भनी चिन्तन गरिरहनु आदि अभिज्झाका विविध भेदहरू हुन् । यस्तो मनोकर्मका कारण ब्यक्तिमा लोभी, कन्जुस, इर्ष्यालु मनोप्रवृति विकास हुन्छ ।
९.     व्यापाद – द्वेषयुक्त संकल्प, दुष्ट मनसाय हुनु नै ब्यापाद मनोकर्म हो । क्रोध, वदलाको भाव, इर्ष्या, रोष आदि ब्यापादचित्तका रूपहरू हुन् । अरूको नराम्रो होस्, दुःख पाओस्, मरोस् भन्ने विचार नै ब्यापाद हो । यस प्रकारको कर्म गर्ने ब्यक्ति सँधै भयभित भएर बाँच्नु पर्ने, रिसाहा स्वभावको हुन पुग्दछ ।
१०.  मिच्छादिट्ठि – विपरित वा गलत धारणा लिइ वस्नु नै मिथ्थ्यादृष्टि हो । दान गर्नुको फल छैन, चतुर्राय सत्य हुँदैन, इहलोक र परलोक छैन, आमाबुवाको गुण छैन, कर्मको फल छैन, यस संसारमा सम्येक आचरण भएका ब्यक्ति छैनन्  भन्ने दृष्टिकोणलार्इ बोकि रहनु मिच्छादिट्ठि हो । यो मनोकर्म सबै पापकर्महरूका जननी हुन् । तसर्थ यो सम्पूर्ण अकुशलहरूको जरो हो ।
यी कर्महरू मध्ये काय कर्म र बची कर्म मनोकर्मका सन्तान हुन् । कर्म मनबाट नै शुरू हुन्छ र विकसित हुँदै वचन र शरीरको स्तरमा देखा पर्दछ । यदि चेतनाको स्तरमा केहिं छैन भने शरीर वा वचनबाट हुने बाहिरी कर्म दोषपूर्ण हुँदैन । तसर्थ चेतना नै कर्म हो भनी बुद्धले भन्नु भएको छ । तसर्थ मनोकर्ममा संयमता ल्याउन सके बाँकि शरीर र वचनबाट हुने अकुशल र त्यसका विपाकफलबाट स्वतः बच्न सकिन्छ । यी अकुशल कर्महरूबाट बची यसको विपरित कार्यहरू अर्थात् कुशल कर्महरू गर्नु पर्दछ । क्रमशः कुशलकर्महरू यस प्रकार छन् - प्राण रक्षा गर्नु, दान दिनु, सबै महिला पुरूषलार्इ दाजुभार्इ ज्ञातिवन्धुको दृष्टिले हेर्नु, सत्य बोल्नु, नमिलेकालार्इ मिलाउने कुरा गर्नु, काम लाग्ने ज्ञानगुणका कुरा गर्नु, त्याग चित्त हुनु, मैत्री चित्त हुनु र सम्येकदृष्टि हुनु । जीवनको हरेकपलमा मैत्री भाव, करूणा भाव, समानताको भाव कायम गरी यसको आधारमा अकुशल छोड्ने र कुशल बृद्धि गर्ने गर्नु पर्दछ । कुशल धर्मको वृद्धिका साथसाथै दान, शील, भावना आदि पुण्यक्रियाहरू सम्वर्द्धन गर्दै बोधिज्ञान आफूभित्र जगार्इ दुःखचक्रबाट मुक्त हुन सद्धर्म अभ्यास गर्न सकेमात्र यो मनुष्य जीवनको सार हुनेछ  ।

भवतु सब्व मंगलम् ।

Comments

Popular posts from this blog

१३ औं ज्ञानमाला बाैद्ध जागरण अभियान - गुइत

'Dhañlyähiti' - an annual display intending to educate people about death:

बुद्ध पूजा सम्येक पाठ (नेपाल भाषा अनुवाद सहित)