दशपुण्यक्रिया
मिति २०७६ जेठ ११ नापिचन्द्र महाविहार इखाछेँ बहिमा आयोजना भएको ३३ औं परियत्ति वक्तृत्त्व कला प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको दीपावती बाैद्ध परियत्ति केन्द्रबाट भाग लिएका ११ वर्षीय श्री आर्यन् बि.सी.ले 'दशपुण्यक्रिया' विषयमा प्रस्तुत गरेको प्रस्तुती यहाँ राखिएको छ । यस प्रस्तुतिले दोस्रो पुरस्कार हासिल गर्न सफल भएको थियो ।
(प्रस्तुतिको पूर्ण पाठ)
सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा
सचितं परियोदपनं एत्तं बुद्धानंसासनं
भगवान् बुद्धले जीवन पर्य्यन्त सिकाउनु भएको सद्धर्मको सारका रूपमा धम्मपदको (बुद्ध वग्गोको १८३ औ) यो गाथा यहाँ स्मरणीय छ । यसको अर्थ हो - नगर्नु कुनै पापको काम - कुशलकर्म बृद्धि गर्दै लानु, चित्त शुद्ध गर्दै लानु - यहिं सबै बुद्धहरूको उपदेश हुन् । यसमा कुशलस्स उपसम्पदा भनेको दशकुशल र दश पुण्यक्रिया बढाउँदै लानु भनेको हो । यहिं प्रसँगमा आएको दशपुण्य क्रियाका विषयमा आज म यहाँहरू समक्ष बोल्न गइरहेको छु ।
सर्वप्रथम बुझौं - ‘पुण्य’ भनेको के हो त ? जुन परिशुद्ध छ, राग द्वेष मोहले दूषित भएको चित्तलार्इ परिशुद्धता तिर लैजान हेतु बन्छ त्यसैलार्इ नै ‘पुण्य’ भनिन्छ । पुण्य कर्मले चारै तिर सद्गतिको बाटो खोली दिन्छ । भगवान् बुद्धले बताउनु भएको छ - “पुण्यमात्र यस्तो चिज हो जुन भुइचालोले हानी गर्न सक्दैन, बाढीले बगाउन सक्दैन र मृत्यु पश्चात् पनि साथ साथै रहेने सम्पत्ति पनि पुण्य नै हो ।’
पुण्यक्रियाहरू जम्मा १० प्रकारका छन् । तर त्रिपिटकमा यीनीहरूलार्इ संक्षिप्तमा तीन प्रकार छन् भनी उल्लेख गरिएको पाइन्छ । अंगुत्तरनिकायको अट्ठकनिपातपालिको दानवग्गो अन्तर्गत पुञ्ञकिरियवत्थुसुत्तंमा बुद्धवचन यस प्रकार छ - ‘‘तीणिमानि, भिक्खवे, पुञ्ञकिरियवत्थूनि । कतमानि तीणि? दानमयं पुञ्ञकिरियवत्थु, सीलमयं पुञ्ञकिरियवत्थु, भावनामयं पुञ्ञकिरियवत्थु।ְ” अर्थात् ‘‘भिक्षुहरू, पुण्यक्रियाहरू तीन छन् । ती के के हुन् त? दानमय पुण्यक्रिया, शीलमय पुण्यक्रिया, भावनामय पुण्यक्रिया ।” इतिवुत्तक-अट्ठकथाको ६० औं गाथा - पुञ्ञकिरियवत्थुसुत्तवण्णनामा यीनै तीन पुण्यक्रियाहरूको विस्तृतीकरण गरी थप सात थरिको पुण्यक्रियाको पनि उल्लेख भएको छ । “अपरानिपि सत्त पुञ्ञकिरियवत्थूनि – अपचितिसहगतं पुञ्ञकिरियवत्थु वेय्यावच्चसहगतं पत्तिअनुप्पदानं अब्भनुमोदनं देसनामयं सवनमयं दिट्ठिजुगतं पुञ्ञकिरियवत्थूति।” दशपुण्यक्रियालार्इ सरल तरिकामा यसरी बताइएको छ ।
दानं शीलञ्च भावना पत्तिपत्तानुमोदन
वैय्यावच्च अपचायञ्च देसना सुति दिट्ठिउजु
यी दश थरिका पुण्यक्रियाहरूका वारे केहि विस्तारमा चर्चा गर्न चाहन्छु ।
१. दान - त्याग चित्तले, उदार चित्तले आफूसँग भएको भौतिक तथा अभौतिक वस्तु अरूलार्इ दिनु नै दान हो । भोकालार्इ खाना, रोगीलार्इ औषधी, गरिवलार्इ आर्थिक सहयोग, रगत वा मानवअङ्ग दान, अशिक्षितलार्इ शिक्षा दिनु दानका केहि उदाहरणहरू हुन् । भिक्षुहरूलार्इ नभइ नहुने चतुप्रत्यय वस्तु अर्थात् भोजन, औषधी, विहार र चिवर दान दिनुको फल अप्रमाण रहेको उल्लेख छ । साँचो अर्थमा ‘दान’ भनेको बाहिरी देखावटी रूपमा दिने काम मात्र होइन - भित्री चेतना र आशयको स्तरमा उदारता र निस्वार्थता पूर्वक गर्ने कर्मलार्इ भनिएको हो । यस कर्मको विपाक फलानुसार सम्पन्न कुलमा जन्म हुने वा विपन्न कुलमा जन्म हुने हुन्छ ।
२. शील - शील शब्द नै शीलन अर्थात् जग भन्ने शब्दवाट आएको हो । शील समाधी प्रज्ञा युक्त बोधि मार्ग यीनै शीलको जगमा अडेको हुन्छ । यस अन्तर्गत आधारभूत रूपमा प्राणि हिंसा, चोरी, ब्यभिचार, झूठा वचन र जाँडरक्सी जस्ता वेहोसमा पार्ने मादकपदार्थ सेवा नगर्ने शिक्षा पञ्चशील पर्दछ । समग्रमा भन्नु पर्दा काय वाक चित्तले गरिने सबै खालको कर्महरू प्रति सजग भर्इ संयमता अपनाउनु नै शील हो । पञ्चशील पालन नगर्ने ब्यक्ति सामाजिक रूपमा पनि निन्दित हुन्छ । उनीहरूका लागि आध्यात्मिक रूपमा प्रगतिको बाटो नै बन्द हुन्छ । यसको विपरित, शील पालन गरे जीवन सुढृढ हुँदै जान्छ र क्रमशः संसारिक दुःख वन्धनबाट मुक्त हुने मार्गफल सम्म पुर्याउँछ ।
३. भावना - बुद्धले पुण्य आर्जनको सबै भन्दा उर्वर भूमि भावना हो भनी भन्नु भएको छ । ध्यान भावना समथ र विपस्सना गरी दुर्इ प्रकारका छन् । ध्यान भावना द्वारा चित्त एकाग्र गरे पश्चात् प्रज्ञा ज्ञानको उदय भर्इ निर्वाण साक्षात्कार हुन्छ ।
४. पत्तिदान - आफूले गरेको पुण्यको फलस्वरूप सबै प्राणीहरूको कल्याण होउन् भन्ने उदार चित्तले पुण्य प्रसारण गर्नु र पुण्यदान गर्नुलार्इ ‘पत्तिदान’ वा ‘पत्तिअनुप्पदानं’ भनिन्छ । अर्को अर्थमा यसलार्इ परमंगल कामनाको रूपमा पनि बुझ्न सकिन्छ । यसरी पुण्य बाँड्दा पुण्य घट्ने नभइकन झन् उल्टो बढ्ने हुन्छ । निरय दुर्गतिमा रहेका प्राणिहरूलार्इ पनि यस्तो पुण्यदान महत्त्वपूर्ण सहायक हुन्छ । मृत्यु भएका मातापितालार्इ पुण्यदान दिनु पुत्र पुत्रीको कर्तब्य हो भनी सिगालोवाद सुत्रमा बताइएको छ ।
५. पत्तानुमोदन - अरूको पुण्यमा हर्षित हुनु, प्रसन्न हुनुलार्इ पत्तानुमोदन वा पत्तिअब्भनुमोदनं भनिन्छ । साधु साधु साधु भनी अरूको पुण्यकार्यलार्इ सधन्यवाद अनुमोदन गर्ने अभ्यास चतुर्ब्रम्ह विहार मध्येको मुदिता भावनाको अभ्यास पनि हो ।
६. वैयावच्च - करूणा राखी आवश्यक अवस्थाहरूमा निस्वार्थभावले परोपकार सेवा गर्नु वैय्यावच्च हो । विपद्को अवस्थामा राहत वितरण, ध्यान शिविरहरूमा स्वयम् सेवक हुनु, समाज सेवा, वृद्धाश्रममा सहयोग गर्नु, श्रमदान गर्नु, मन्दिर विहार सरसफाइ गर्नु आदि वैय्यावच्चका उदाहरणहरू हुन् ।
७. अपचायन - त्रिरत्न प्रति, आमाबुवा, आचार्य तथा अन्य पुण्यवान् अग्रहरू प्रति आदर गौरव राखी सम्मान पूर्वक ब्यवहार गर्नुलार्इ ‘अपचायन’ अथवा ‘अपचितिसहगतं पुञ्ञकिरियवत्थु’ भनिन्छ । आफू भन्दा ठूलो होस् वा समकक्षी वा साना होस्, उनीहरूको भावना, सम्पत्ति तथा अधिकारहरूको कदर गर्नु, अपहेलना नगर्नु यसै क्रिया अन्तर्गत पर्दछ ।
८. देशना - ‘सब्ब दानं धम्म दानं जिनाति’ अर्थात ‘सबै दानलार्इ धर्म दानले जित्दछ’ । धर्मको कुरा सुनाएर कसैलार्इ धर्ममा आँखा खुलाउन सकेमा त्यो जस्तो महादान अरू छैन । मिथ्थ्यादृष्टिमा परेकालार्इ सम्यकदृष्टि तिर, कुमार्गमा हिँडेकालार्इ सुमार्गमा ल्याउनु, धर्म देशना तथा धम्मसाकच्छाको कार्यक्रमहरू आयोजना गर्नु, धर्मका कितावहरू लेख्नु तथा छाप्नु आदि क्रियाहरू यस देसनामयं पुञ्ञकिरियवत्थू अन्तर्गत पर्दछ ।
९. सुति - सुति अथवा सवनमयं पुञ्ञकिरियवत्थू भनेको धर्म ज्ञान सुन्नु, परियत्ति कक्षा तथा बौद्ध अध्ययनका कक्षाहरूमा भर्ना हुनु, धर्म देशना तथा साकच्छाको कार्यक्रमहरूमा सहभागी हुनु आदिलार्इ जनाउँछ । धर्म सुन्दा आफ्नो र अरूको कल्याणार्थ सुन्छु भन्ने आशय हुन पर्दछ । यस क्रियाको अभ्यासले धर्ममा आँखा खुल्छ, अभ्यासमा उत्प्रेरित हुन्छ र बहुश्रुत भर्इ धर्मको ठीक ठीक अर्थ पहिल्याउन समर्थवान् हुन्छ ।
१०. दिट्ठिजु कम्म - दृष्टि अर्थात् धारणा सुढृढीकरण गर्दैलाने चेष्टा र कार्य नै दिट्ठिजुगतं पुञ्ञकिरियवत्थू हो । सबै पुण्यक्रिया वस्तुहरू मध्ये सबै भन्दा महत्त्वपूर्ण पुण्यक्रियावस्तु यहिं नै हो । यो क्रिया आर्यअष्टाङ्गिक मार्ग मध्ये एक महत्वपूर्ण मार्ग सम्मादिट्ठि हो । चार आर्यसत्यलार्इ पूर्णरूपमा र परिशुद्धरूपमा बुझ्नु, मिथ्थ्यादृष्टि हटाउनु, कर्म र कर्म फललार्इ स्पष्ट बुझ्नुलार्इ दिट्ठिजुकम्म भनिन्छ । यसैको माध्यमबाट निर्वाण साक्षात्कार हुने हो ।
यस दशपुण्यक्रिया वस्तुको उपदेशका वारे बुझे पछि यसलार्इ आचरणमा ल्याउनु पर्छ । यसका लागि निरन्तर तालिम लिने, शिक्षित हुने गर्नु पर्दछ । यहिं नै दीर्धकालीन सुख प्राप्त गर्ने मूल हो । दान, शील र भावनाको अभ्यास नगर्ने र दुःख दुःख मात्र भनी हिँड्ने हो भने कसाहीको अगाडि राँगो कराए झै मात्र हुन्छ । आचरण गर्न अभिप्रेरित गर्ने खालका धम्मपदका यी गाथाहरू यहाँ सान्दर्भिक हुन्छ ।
दन्धञ्हि करोतो पुञ्ञं, पापस्मिं रमती मनो॥
पुण्य झट्टै गरिहाल्नु पर्छ, पाप चित्त निवारण गर
पुण्य गर्नमा विलम्व गर्यो भने मनमा पाप चित्त उब्जन सक्छ ।
११८ पुञ्ञञ्चे पुरिसो कयिरा, कयिरा नं पुनप्पुनं।
तम्हि छन्दं कयिराथ, सुखो पुञ्ञस्स उच्चयो॥
पुण्य गरिसकेता पनि फेरी फेरी गर्नु पर्छ ।
त्यसमा खुव उत्साह बढाउनु पर्छ । पुण्यको संग्रह सुखको मूल कारण हो ।
१२२ मावमञ्ञेथ पुञ्ञस्स, न मन्तं आगमिस्सति।
उदबिन्दुनिपातेन, उदकुम्भोपि पूरति।
धीरो पूरति पुञ्ञस्स, थोकं थोकम्पि आचिनं॥
अलिकता पुण्य गरेर के होला र ? भनी नभन्नु,
एक एक थोपा पानीले गाग्रो भरे झैं
धीर पुण्यवान् ले अलि अलि गरेर पुण्य थुपार्छ ।
यी उपदेशहरूमा भनिए झै पुण्यक्रियाको अभ्यास गरी पुण्य सम्पदा बढाउँदै बोधिलाभ गर्न सकुन् भन्ने शुभकामना ब्यक्त गर्दै म मेरो वक्तब्य यहि समाप्त गर्दछु ।
Comments
Post a Comment