सद्धर्मरत्न महामार्ग क्रम

चार मति परिवर्तन अभ्यास

नमः श्री सद्गुरूभ्यः

शरणागमन + बोधिचित्त
बुद्धं च धर्मं च गणोत्तमं च यावद्धि बोधिं शरणं गतोऽस्मि
दानादिपुण्यैश्च कृतैर्मयैभि बुद्धो भवेयं जगतो हिताय ।। 

बुद्ध र धर्म र गणोत्तमैमा बोधि हुँदासम्म म छु शरणमा
दानादि मेरा सब पुण्यबाट बुद्धै म होउँ जगतो हिताय ।।

चतुर्ब्रम्हविहार
सर्वे सत्त्वाः सुखैश्चैव युक्ताः स्युः सुखकारणैः
भवन्तु सततं मुक्ता दुःखाश्च दुःखकारणात् । 
कदापि वञ्चिता न स्युर्दुःखहीन महासुखात् । 
दूरादूरद्वेषरागमुक्तोपेक्षास्थिता हि स्युः ।।

सबै सत्त्व युक्त होउन् सुखले, सुखहेतुले
मुक्त होउन् सधै दुःखबाट अाै दुःखहेतुले
कदापि वञ्चित नहुन् दुःखहीन महासुखले
टाढा नजिकमा द्वेष राग मुक्त, तटस्थ होउन् । 

अमूल्य मानवदेहको प्राप्ति
अाठ 'क्षण' र दश 'सम्पत्ति'ले युक्त भएको यो मनुष्य जीवन पाएको छु । यो पाउन अति दुर्लभ छ । अाठ अक्षण भनेका यी हुन् ।

  1. नरकमा जन्म लिनु
  2. प्रेत भएर जन्म लिनु
  3. पशु भएर जन्म लिनु
  4. म्लेच्छ (धर्म नमान्ने या विपरित धर्म मान्ने) भएर जन्म लिनु 
  5. दीर्घायु भएका देवलोकमा जन्म लिनु
  6. मिथ्थ्यादृष्टि भएर जन्म लिनु
  7. बुद्ध नभएको देश काल परिस्थितिमा जन्म लिनु
  8. लाटो बुङ्गो भएर जन्म लिनु 
अहिले म यी अाठ अोटै अक्षणहरूबाट मुक्त छु । अहो ! कस्तो अमूल्य जन्म पाएको रहेछु । यी अक्षणहरूमा जन्मेको भए मेरो के हालत हुन्थ्यो होला । नरकमा, प्रेत र तीर्यक (पशु) मा जन्मेको भए दुःखै धेरै भएर म फँस्ने थिएँ । म्लेच्छ भएको भए कार्य र अकार्यको वारेमा ज्ञान हुन नसक्नाले म डुब्ने थिएँ । दीर्घायु देवता भएको भए प्रमादले गर्दा अल्झिरहने थिएँ । मिथ्थ्यादृष्टिले युक्त भएको भए अाशय र धारणाहरू गलत हुनाले गर्दा उम्कन सक्ने थिइन । बुद्ध नभएको देश काल परिस्थितिमा जन्मेको भए मानिसै भएपनि सद्धर्म सुन्न पाउने थिइन । मूक (इन्द्रिय विकल) भएर जन्मेको भए चित्त सशक्त न हुनाले गर्दा कार्य अकार्यको विवेचना गर्न सक्ने थिइन । अहो धन्य अमूल्य जन्म पाएको रहेछु । यस्ता 'अक्षण'हरूबाट मुक्त भर्इ 'क्षण' ले यक्त भएको जन्म पाएको रहेछु ।

पाँच स्व-सम्पत्ति र पाँच परसम्पत्तिले युक्त भएको अमूल्य जन्म पाएको छु । 
  1. मनुष्य भएर जन्मनु नै धेरै दुर्लभ हो, त्यो प्राप्त गरिसकेको छु । अहो अमूल्य जुनी । 
  2. मध्यदेशमा जन्मेको छु जहाँ सद्धर्म फैलिरहेको छ । कति स्थान यस्ता पनि छन् जहाँ सद्धर्म सुन्न पनि पार्इंदैन । त्यहाँ जन्मेको भए मेरो के हालत हुन्थ्यो होला । अहो अमूल्य जुनी । 
  3. अपाङ्ग या सुस्त मनस्थितिको नभएर मेरा दशै इन्द्रियहरू सही सलामत अवस्थामा छन् । नत्र भने के हालत हुन्थ्यो । अहो  अमूल्य जुनी । 
  4. बुद्ध एवं सद्धर्म प्रति श्रद्धा पनि पलाएको छ । नत्र यहाँ मिथ्थ्या धारणा र सिद्धान्तहरू पनि  थुप्रै छन् । त्यतातिर म फँसेको भए के हुन्थ्यो होला । अहो अमूल्य जुनी । 
  5. मैले कर्मान्तलार्इ अतिक्रमण पनि गरेको छैन अर्थात् पितृवध, मातृवध, अर्हत् वध, संघभेद र तथागतको शरीरबाट दुष्ट अाशयले रगत बगाउने जस्ता पाँच अानन्तर्य कर्महरू गरेको छैन । अन्यथा यस्तो गरेको भए म यस जन्ममा तर्ने त के नरक बाहेकको मेरो अर्को गति नै हुने थिएन । अहो अमूल्य जुनी । 
धन्य हो, मेरो अहिलेको यो अमूल्य जुनी । जुन पाँचै स्वसम्पत्तिले युक्त रहेको छ ।
त्यस्तै, 
  1. बुद्ध अाउनु भएको युगमा जन्मेको छु । 
  2. अाए पनि धर्म नसिकाउन सक्नुहुन्थ्यो । परन्तु सद्धर्म सिकाएको परिस्थितिमा जन्मेको छु । 
  3. सिकाएको सद्धर्म विकृत भर्इ हराउन सक्थ्यो । परन्तु अझै जीवित रहेकै अवस्थामा जन्मेको छु । 
  4. सद्धर्मका अनुयायीहरू भएकै अवस्थामा नै जन्मेको छु । जसले गर्दा संघको दर्शन मलार्इ हुनसक्यो । 
  5. गुरूहरूलार्इ करूणा पर्याप्त मात्रामा भएकै बेलामा जन्मेछु जसले गर्दा धर्मश्रवण गर्न पाएँ । अहो अमूल्य जुनी । 
यसरी पाँच परसम्पत्तिले पनि युक्त भएको यो  अमूल्य मानव जन्म पाएको छु । अहो अमूल्य जुनी । 
यी अठारै गुणले यक्त भएको ज्यादै दुर्लभ छ । अहो अमूल्य जुनी । 
जन्म जन्मान्तरको कुशल कर्मबाट मात्र यो मानव जन्म प्राप्त छ । जन्मान्तरका अकुशल कर्मले गर्दा यस्तो जीवन फेरि प्राप्त गर्न ज्यादै दुर्लभ छ । हेतुको हिसावले यति दुर्लभ जीवन प्राप्त गरेको छु । अहो अमूल्य जुनी । 

संख्याको हिसावले पनि मुनष्यहरू भन्दा अन्य प्राणीहरू करोडाैं बढी छन् । अतः जन्म हुँदा पनि मनुष्यको स्थान धेरै कम हुन्छ । त्यसैले पनि यस्तो सीमित स्थान भएको दुर्लभ मनुष्य योनीमा जन्म पाएको छु । अहो अमूल्य जुनि । 
उपमाको हिसावले हेर्दा पनि भगवान् बुद्धले यो मनुष्य जन्म पाउनु भनेको महासागरमा तैरिरहेको एउटा प्वाल भएको जुवाभित्र सय बर्षमा एक पटकको दरले सतहमा अाउने अन्धो कछुवाको घाँटी छिर्नु जस्तो दुर्लभ हो भनेर बताउनु भएको छ । यस्तो दुर्लभ मनुष्य जन्म पाएको छु । अहो अमूल्य जुनी । 
यस्तो सुअवसर पनि दिनानुदिन क्षय हुँदैछ । अहो अमूल्य जुनी । 
यस्तो अवसर पनि अनित्य मात्रै हो अहो अमूल्य जुनी । 

परिणामना
एतत्साधनपुण्येन सर्वे सर्वज्ञतापदम् 
प्राप्नुवन्तु जयन्तु चाकुशलं कर्मवैरिणम् । 
जन्ममृत्युजराब्याधि स्वरूपार्वतपूरिताम् 
मोचयाम सर्वसत्त्वान् दुर्गमाद् भवसागरात् । 

यो साधनाको पुण्यैले सबै सर्वज्ञतापद
पुगून् जितून् अकुशल कर्मशत्रुहरू सब ।।
जन्म-मृत्यु-जरा-ब्याधिरूपी भुमरियुक्त यो । 
दुर्गम्य भवसागर नै तारूँ सत्त्व सबैजसो ।। 




Comments

Popular posts from this blog

१३ औं ज्ञानमाला बाैद्ध जागरण अभियान - गुइत

'Dhañlyähiti' - an annual display intending to educate people about death:

बुद्ध पूजा सम्येक पाठ (नेपाल भाषा अनुवाद सहित)