दुःख समुदय आर्य सत्य - आर्यन वि.सी.
२०७६ कार्तिक ३० गते शनिवार श्री शाक्यसिंह विहारमा आयोजित ३३ औं परियत्ति वक्तृत्त्वकला प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल दीपावती बाैद्ध परियत्ति केन्द्र बाट सहभागी भएका आर्यन वि.सी.को प्रस्तुति
प्रस्तुतिको पूर्ण पाठ
भगवान बुद्धको सम्पूर्ण शिक्षाको सार चार आर्य सत्य हो । संसार दुःखमय छ भन्ने सत्य, दुःखको कारण, त्यसको निरोधको अवस्था र त्यस निरोधको अवस्था सम्म पुर्याउने आठ अङ्ग युक्त मार्ग अर्थात् उपायका कुरा यस सार उपदेशमा समेटिएको छ । यस सत्यको अवबोध पश्चात् नै उहाँ बुद्ध हुनु भयो र महाकरूणावान् वहाँले ४५ वर्ष सम्म ग्राम ग्राम नगर नगर चारिका गर्नु भइ यहि उपदेश देवमनुष्य आदिलाइ सिकाउनु भयो र आफू जस्तै तिनीहरूलार्इ पनि विमुक्त अवस्थामा पुर्याउनु भयो । भगवान बुद्धले धर्मचक्र प्रवर्तनका क्रममा पञ्चभद्र वर्गीय भिक्षुहरूलार्इ मध्यम मार्गको शिक्षा दिँदै पहिलो दुःख आर्यसत्य देशना गर्नु भयो । तत्पश्चात् दोस्रो आर्यसत्यका रूपमा दुःख समुदय आर्य सत्य अर्थात् दुःख उत्पत्तिको कारण वारे उपदेश दिनु भयो । यहि चार आर्य सत्य मध्य दोस्रो दुःख समुदय आर्यसत्यका वारे म यहाँ आज केहिं चर्चा गर्न गइरहेको छु ।
इदं खो पन, भिक्खवे, दुक्खसमुदयं अरियसच्चं – यायं तण्हा पोनोब्भविका नन्दिरागसहगता तत्रतत्राभिनन्दिनी, सेय्यथिदं - कामतण्हा, भवतण्हा, विभवतण्हा। (सुत्तपिटक - संयुक्तनिकाय - महावग्गपालि - सच्चसंयुत्त - धम्मचक्कपवत्तन सुत्त)
अर्थात्, भिक्षुहरू, तृष्णा नै हो दुःख उत्पन्न हुनुका कारण - जुन पुनःपुनः जन्म गराइदिने स्वभावको हुन्छ । आशक्त हुने विषयवस्तुसँग टाँसिने स्वभावको हुन्छ र जुन जुन भवमा उत्पन्न भए, त्यहाँ जे जे लाभ हुन्छ त्यसैमा रमाउने स्वभावले युक्त हुन्छ । ती के के हुन् भने - काम तृष्णा, भव तृष्णा र विभव तृष्णा
यहाँ काम तृष्णा भन्नाले आँखाले हेर्नु, कानले सुन्नु, छालाले छुनु, जिब्रोले स्वाद लिनु र नाकले सुँध्नु जस्ता पञ्चकाम विषयहरूमा मज्जा मान्नु, रमाउनु, आशक्त हुनु भनी बुझ्नु पर्दछ । उदाहरणबाट बुझौं, कसैलार्इ रक्सी पिउनुमा र रक्सीको स्वादमा आशक्ति छ भने रक्सी खाँदा क्षणिक रूपमा सुख अनुभव गर्छ । उसले संसारको सबैभन्दा बढी सुख दिने वस्तु त्यहिं रक्सीलार्इ मान्न पुग्दछ । जसरी सबै वस्तुहरू अनित्य धर्म अनुसार समाप्त हुन्छ त्यसैगरी उसको रक्सीको मात पनि समाप्त हुन्छ । तत्पश्चात् उ फेरी त्यही सुखानुभवको खोजीमा दौडिन्छ । प्राप्त भए एक छिन सन्तुष्ट हुन्छ तर प्राप्त नभएमा त्यहिं सुखानुभवको अभाव र चाहनाका कारण दुःख पीडाले छटपटिइरहन्छ, उसको जीवन तनावपूर्ण हुन्छ । यसै प्रकारले अन्य कामविषयहरूबाट प्राप्त हुने सार रहित सुखको लागि उद्योग गर्दा गर्दै जीवन चोला समाप्त हुन्छ । तसर्थ कामविषयका सम्पूर्ण विषयवस्तुहरू अनित्य, दुःख, अनात्मा युक्त हुन्छ भन्ने यथार्थ स्वभावको बोध नभर्इ ती विषयवस्तुहरूलार्इ शाश्वत ठान्ने अविद्या नै काम तृष्णा हो ।
अव एक छिन भव तृष्णाको वारे चर्चा गरौं । शरीर विनाश भएर गएपनि सत्त्व जीव आत्मा विनास हुँदैन, विश्व प्रलय भएपनि यो जीवात्मा अविनाशी नै रहन्छ भन्ने शाश्वत् दृष्टिले युक्त भर्इ पुनः पुनः तत् तत् भवमा जन्म लिन पाउँ भन्ने आशा नै भव तृष्णा हो । भव तृष्णा भएका ब्यक्तिले दान शील भावना जस्ता पुण्यक्रिया नै गरे पनि सुखसयल युक्त स्वर्गमा जन्मन पाउँ भन्ने उद्देश्य राखी पुण्य कर्महरू गर्दछन् । यस बाहेक स्वर्गमा गर्इ त्यहाँको सुख भोग गर्न पाइन्छ भन्ने आशा लिर्इ अनेकन कुकर्म समेत गर्न तयार हुन्छ । यहिं स्वभावका कारण तृष्णालार्इ ‘पोनोब्भविका’ अर्थात् ‘पुनः पुनः जन्मगराउने’ भनिएको हो ।
तेस्रो प्रकारको तृष्णा - विभव तृष्णाका वारे पनि अब केहि चर्चा गरौं । जीवन नमरूञ्जेल सम्मका लागि मात्र हो, मरण पछि सम्पूर्ण समाप्त हुन्छ भन्ने उच्छेद दृष्टिमा रहन रमाउने स्वभावलार्इ विभव तृष्णा भनिन्छ । बाँचुञ्जेल जे गरेको हो मृत्यु पछि त्यसको फल भोग्नु पर्दैन । तसर्थ यसका कारण राम्रो काम गर्न पनि नचाहने, नराम्रो कामबाट पन्छिन पनि नचाहने खालको हुन्छ । तर कर्म र कर्म फलको नियम यथावत नै रहन्छ र त्यस्ता ब्यक्ति ती कर्महरूको भोग गरिरहन्छ र यसैको कारण दुःखमय संसारमा धुमिरहनु पर्ने हुन्छ । हेर्नुस् न, अहिले भर्खरै समाचारमा छाइरहेको घटना । आज भन्दा १२ वर्ष अघि, चुनावमा बम काण्ड गर्न बम वनाउँदै गरेका टोली बीच बम दुर्धटना भएछ । यो विषयलार्इ ढाकछोप गर्न त्यहाँका घाइते लगायत २३ जना सबैलार्इ बोरामा कोचेर भटभटी बलिरहेको इटाको भट्टीमा खसालि मारी दिएछ । घटना भएको १२ वर्ष पछि यस घटनाको प्रमुख दोषीको अभियोगमा सांसद जस्तो गरिमामय पदमा आसिन ब्यक्ति अहिले पक्राउ परेको छ । उनको अभियोग पुष्टि होला / नहोला, तर यसका दोषी जो सुकै भए पनि यस्तो प्रकारको जधन्य अपराध गर्ने आँट गर्न कर्म र कर्मफल छैन, पुनर्जन्म भन्ने हुँदैन भन्ने उच्छेद दृष्टि र विभव तृष्णाले भूमिका खेलिरहेको हुन्छ । माथिका अरू दुर्इ प्रकारका तृष्णा भन्दा यस विभव तृष्णा बढी खतरनाक हुन्छ । तर आजको आधुनिक समाजको विचार, शिक्षा, संस्कृति सबै उच्छेद दृष्टि तिर नै उन्मुख छ । जुक एक खतराको संकेत हो ।
त्रिपिटकमा संयुक्तनिकाय अन्तर्गत धम्मचक्कपवत्तन सुत्त देशना गर्नु भएको यी तीन प्रकारको तृष्णालार्इ विचार गरी हेर्दा यी तीनै तृष्णाका जननी अज्ञान/अविद्या रहेको छ । अविद्या कै कारण चित्त भ्रममा रहन्छ। जसलार्इ मोह, अन्धकार, प्रमाद, मिथ्थ्यादृष्टि, विपर्यास, माया आदि संज्ञा दिइएको छ । यसैको कारण राग, द्वेष, अभिमान, विचिकित्सा आदि क्लेश र क्रोध, इर्ष्या, मात्सर्य आदि जस्ता उपक्लेशहरू उत्पन्न हुन्छ। यी क्लेश र उपक्लेशहरूका कारण मानिसहरू जीवन भरी आफू पनि दुःखमा जिउँछ र सुखको आशामा वा द्वेषको प्रभावमा अरूलार्इ दुःख दिन तत्पर भइरहेको हुन्छ । जसका कारण अनन्त दुःखको भुमरीमा फसिरहेको हुन्छ । यसै दुःख समुदय आर्य सत्यको ब्याख्याको क्रममा भगवान बुद्धले प्रतीत्यसमुत्पादको देशना गर्नु भएको छ । अविद्याका कारण संस्कार उत्पन्न हुन्छ, संस्कारका कारण विज्ञान उत्पन्न हुन्छ र यसै गरी क्रमश नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव हुँदै जन्म जरा ब्याधि मरण शोक परिदेव आदि दुःखहरू उत्पन्न हुन्छ । यसैको साथमा उनले यस दुःखचक्र भवचक्रलार्इ तोड्न विपस्सना विधि पनि सिकाउनु भयो । हरपल उत्पन्न हुने वेदनाहरूलार्इ स्मृतिपूर्वक निरिक्षण र अवलोकन गरी पञ्चस्कन्ध धर्महरूको यथाभूत ज्ञान साक्षात्कार भएमा शरीरमा उत्पन्न हुने वेदनामा गरिने मन पर्ने वा मन नपर्ने भनी गरिने प्रतिकृया पश्चात् उत्पन्न हुने तृष्णाको सट्टा विपस्सना विधिबाट साक्षी भावले तटस्थ भावले वेदनाको अवलोकन निरिक्षण गर्नाले अनित्य दुःख अनात्म ज्ञानको उदय हुन्छ । यस प्रकारको प्रज्ञा अर्थात् परमार्थ ज्ञानले उपादान अर्थात आशक्ति भाव उत्पन्न हुन दिंदैन र क्रमश सबै हेतुचक्र निरोध भइ पूर्णरूपमा दुःखको निरोध हुन्छ । शील समाधि प्रज्ञा युक्त आर्य अष्टाङ्गिक मार्गको अभ्यासले मोह अविद्या क्षय गर्दै तृष्णा क्षय भएमा दुःखबाट मुक्त अवस्था निर्वाण साक्षात्कार हुन्छ ।
तृष्णा युक्त चित्त त्यसको स्वभावतः शाश्वत् दृष्टि र उच्छेद दृष्टिमा रमाउने भएर यी दुर्इ अतिबाट टाढा रहनु भनी भगवान बुद्धले मध्यम मार्गको शिक्षा दिनु भयो । संयुत्तनिकायको छन्नसुत्तमा उहाँले यो भन्नु भएको छ । ‘सब्बं अत्थिति एको अन्तो सब्बं नत्थीती दुतियो अन्तो ’ अर्थात् ‘सबै छ भन्नु एउटा अन्त हो भने सबै छैन भन्नु दोस्रो अन्त हो’ । यस्तै अंगुत्तरनिकायको महावग्गमा भन्नु भयो -
‘यो उभोन्ते विदित्वा न मज्झेमन्ता न लिप्पति
तं ब्रुमि महापुरिसोति सोध सिब्बिनिमच्चगाति । ’
यसको भावार्थ - जसले दुबै अन्तहरूमा वस्दैन, मध्यममा समेत टाँसिदैन, उसलार्इ म महापुरूष भन्छु । उसले नै तृष्णालार्इ पार गर्छ ।
यहि आर्य सत्यको बोध पश्चात् बोधिसत्त्वले दुःखको निदान भेट्टाउनु भयो र यहिं तृष्णालार्इ अषेशरूपमा निर्मूलन गरी बोधि प्राप्त गर्नु भयो । यस ज्ञानको अवबोधका बारेमा भगवान बुद्धको उद्गार यस प्रकार छ।
‘तं खो पनिदं दुक्खसमुदयं अरियसच्चं पहीन’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि।
अर्थात् यस प्रकारले हे भिक्षुहरू, तृष्णा नै दुःख समुदय सत्य हुन् र यसलार्इ प्रहाण गर्ने पहिला कहिल्यै नसुनेको ज्ञानमा मेरो आँखा खुल्यो, ज्ञान खुल्यो, प्रज्ञा प्राप्त भयो, विद्या प्राप्त भयो, प्रकाश प्राप्त भयो ।
वहाँको यो उद्गार झै सबै प्राणीहरूमा यसै प्रकारको ज्ञान चक्षु प्राप्त होस्, अविद्याको अन्धकार हटाइ ज्ञानको प्रकाशले छाओस् भन्ने आशिकाका साथ मेरो यो भनार्इ यहिं अन्त गर्दछु ।
भवतु सब्ब मंगलम् ।
Comments
Post a Comment